• info@mijarlawassociates.com.np
  • 9841114443

निलम्बित प्रधानन्यायाधीश जबरालाई अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

admin 2022 Oct 23

निलम्बित प्रधानन्यायाधीश जबरालाई अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व रहेको जनाएको हो ।

‘यसप्रकारका अधिकारमा कुनै पनि वहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानुनमै टेकेर यसप्रकारको गतिरोधको अन्त्य गर्न आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोमबार जबराको निवासमै पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिएको जनाउदैँ आयोगले जबरा निवासको आवतजावतको निगरानी गरेको, आवास बाहिर निस्कने सवारी साधनमा चेकजाँचमा कडाइ गरेको र उनको सवारी स्कर्टिङ टोलीसमेत हटाएको पाइएको जनाएको छ ।

‘आयोगको टोलीले त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरेको भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महाअभियोग प्रस्तावमाथि सिफारिस समितिले दिएको प्रतिवेदनमाथि निर्णय नगरी आइतबार प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । त्यसपछि जबराले आफू अदालत फर्किने बताएका थिए । त्यसपछि सरकारले उनको निवासमा सुरक्षा कडाइ गरेको थियो ।